नियम ३१
नाम समावेश गर्न सकिने विशेष व्यवस्था
(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा १५ बमोजिम नाम वा विवरण सच्याउन निवेदन दिने अवधि समेतको कार्यविधि समाप्त भई अन्तिम मतदाता नामावली प्रकाशन भई सकेपछि नागरिकता प्राप्त गर्ने व्यक्तिको नाम मतदाता नामावलीमा समावेश गर्ने प्रयोजनको लागि आयोगले ऐनको दफा २३ बमोजिम निर्धारण गरेको अवधिभित्र त्यस्तो व्यक्तिले आफूले प्राप्त गरेको नागरिकताको प्रमाणपत्र संलग्न गरी मतदाता नामावलीमा नाम समावेश गर्न अनुसूची–५ बमोजिमको ढाँचामा प्रमुख नाम दर्ता अधिकारी समक्ष दरखास्त दिनु
पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको मतदाता नामावलीमा नाम समावेश गर्न दरखास्त दिने व्यक्तिले प्राप्त गरेको नागरिकताको प्रमाणपत्रमा ऐनको दफा १५ बमोजिम नाम वा विवरण सच्याउन दरखास्त दिने अवधि समेतको कार्यविधि समाप्त भई आयोगले निर्धारण गरेको अवधि भित्र प्राप्त गरेको हो वा होइन र त्यस्तो व्यक्ति ऐन बमोजिम मतदाता हुन योग्यता पुगेको हो वा होइन भन्ने सम्बन्धमा जाँचबुझ गर्दा उपयुक्त देखिएमा त्यस्तो व्यक्तिको नाम मतदाता नामावलीमा समावेश गर्नु पर्नेछ ।
(३) यस नियम बमोजिम नाम समावेश गरी तयार गरिएको मतदाता नामावली सूचनासहित गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्रकाशित मतदाता नामावली उपर यस नियमावली बमोजिम दावी विरोधको प्रक्रिया पूरा गर्नु पर्नेछ ।
(५) उपनियम (३) बमोजिम मतदाता नामावली प्रकाशन गर्दा अनुसूची–४ बमोजिमको ढाँचामा
मुचुल्का तयार गर्नु पर्नेछ ।